६९ अङ्कले घट्यो नेप्से , सबै समूह राताम्मे

काठमाडौं, भदौ १५ ।  सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । यही भदौ २ गते ३१९९.०३ अंकको ऐतिहासिक उचाइ कायम गरेर भदौ ३ गतेदेखि घट्न सुरु भएको नेप्सेमा निरन्तर गिरावट भइरहेको छ ।

गत साता तीन दिन खुलेको बजारमा दुई दिन नेप्सेमा गिवट भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्सेमा वृद्धि भएको थियो ।

तर शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ६९ अङ्कले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६९ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार नौ सय ७५ दशमलव ८४ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर २३ अङ्कले, विकास बैंक समूहको दुई सय पाँच अङ्कले, व्यापारको एक सय ६ अङ्कले, होटलको ४६ अङ्कले र जलविद्युत् समूहको शेयर एक सय २४ अङ्कले घटेको छ ।

यस्तै फाइनान्सको एक सय एक अङ्कले, माइक्रोफाइनान्सको एक सय ६४ अङ्कले, बीमा समूहको चार सय ४७ अङ्कले, निर्जीवन बीमा समूहको तीन सय ७२ अङ्कले, उत्पादनको एक सय ९८ अङ्कले र अन्य समूहको शेयर ६२ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि कर्णाली विकास बैंकको साढे ७ र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर ६ प्रतिशतले बढेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड ३१ लाख कित्ता शेयर १३ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको एक अर्ब एक करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्