नबिल बैंकद्वारा काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग सम्झौता
काठमाडौं, भदौ ११ । नबिल बैंकले काभ्रेका पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।
पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त साझेदारी मार्फत नगरपालिकाहरूले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रमरतालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रमरतालिमहरूमा वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।
कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक वर्षमा सफलताका कथाहरू सुन्न आतुर भएको बताए ।
त्यस्तै पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्ने बताइन् ।
नबिल बैंकले असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको शुरूआत गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा शुरू गरेको छ ।
बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम शुरूमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरेको थियो । बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्