वीर अस्पतालमा पुन सञ्चालनमा आयो मिर्गौला प्रत्यारोपण सेवा

 

काठमाडौँ , ८ भदौ । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ ।

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुन सुचारु गर्ने निर्णय गरेको कोभिड१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले बताए ।
देशमा पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो । किनकी वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण पछि बिरामीलाई भर्ना गर्ने ट्रान्सप्लान्ट वार्डमा डायलायसिस गर्नुपर्ने कोरोना संक्रमितलाई सेवा दिन थालिएको थियो ।

मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको बस्नेत बताउँछन् । उनका अनुसार बिरामीको चापको आधारमा सातामा दुईजनासम्म बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भएको छ ।
मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा. पारसमणि श्रेष्ठ, डा.अनिल श्रेष्ठ, डा. रविन बस्नेत, डा. पुकार चन्द्र श्रेष्ठ, डा. रजनी हाडा, डा. अनिल बराल लगायतका चिकित्सकहरु छन् ।

प्रतिक्रिया दिनुहोस्