चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत दिन सरकारले छुट्यायो तीन करोड

काठमाडौं , भदौ ८ । नेपालीहरुका महान चाडपर्व अब सुरु हुन लागे, केहि दिनबाट हिन्दुहरुको महान पर्व तिज सुरु हुनेछ । त्यसपछि विस्तारै अन्य चाडपर्व सुरु हुँदै जाने छन् ।

यसैबीच सरकारले चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुमा सहुलियत प्रदान गर्नका लागि ३ करोड रुपैयाँ छुट्याएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल सहुलियत दिने उद्देश्यले यस वर्षको चाडपर्वका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्टाइएको हो ।

सरकारले दसैं, तिहार र छठ चाडपर्वमा सर्वसाधारणलाई सहुलियत प्रदान गर्दै आएको छ । सोही अनुसार यो वर्ष पनि दसैं, तिहारमा सहुलियत प्रदान गर्नका लागि रकम छुट्टाइएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

केसीले यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लागि १ करोड ७५ लाख र साल्ट ट्रेडिङ कर्पोरेशनका लागि १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको बताए ।

हरेक वर्ष दसैं, तिहार र छठमा सरकारले विशेष छुट दिँदै आएको छ । त्यसमा गत वर्ष पनि ३ करोड २५ लाख रुपैयाँ खाद्य र कर्पोरेशनलाई वितरण गरेको थियो ।

यो वर्ष पनि गत वर्षको जति नै रकम छुट्टाइएको मन्त्रालयले जनाएको छ । सरकारले दसैं, तिहार र छठमा देशका विभिन्न बिक्री कक्षबाट उपभोक्तालाई बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गर्ने गर्दछ ।

त्यसमा अत्यावश्यक चिनी, नुन, घिउ, चामल, दाल, तेल, खसीबोका, च्याङ्ग्रामा विशेष छुट दिने गर्दछ । गत वर्ष सरकारले विभिन्न जिल्लामा सञ्चालन रहेको बिक्री कक्षबाट चिनी, चामल, नुनलगायतका खाद्य वस्तुमा प्रतिकेजी २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिएको थियो ।

त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रामा प्रतिकेजी ५० रुपैयाँसम्म छुट दिएको थियो । यो वर्ष पनि उपभोक्तालाई सहुलियत प्रदान गरी केही सहज हुन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्