जापानबाट पाँच लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप आइपुग्यो

 

काठमाडौँ , ७ भदौ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।

जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार काठमाडौं आइपुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमबार अनुदानमा आएको खोप १६ लाख १४ हजार ७४० मात्रा आईपुगोको उनले बताए ।

यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते दुई लाख आठ हजार ७ सय मात्रा खोप नेपाल आएको थियो ।जापानबाट उपलब्ध भएको खोप प्रदेश १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उनले जानकारी दिए । गत फागुनमा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ । भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।

यसैगरी चीनबाट अनुदानमा थप १६ लाख डोज भेरोसेल खोप समेत चाँडै आउने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए । नियमित आउने खोप ५० वर्ष मुनिका र प्राथमिकतामा परेकालाई लगाइने उनले जानकारी दिय ।

नेपालमा अहिलेसम्म करीब एक करोड ४० लाख मात्रा खोप आइसकेको छ । अहिलेसम्म ४९ लाख ४२ हजार २५० जनाले पहिलो मात्रा र ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्