सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी

काठमाडौं । दैनिक आठ हजारदेखि १० हजार सवारी साधन आवतजावत गर्ने, बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ ।
हाल विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकले पाँच वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएको छ । जसका कारण सो सडकको विकल्पको खोजी गरिएको हो विकल्पको रुपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न पहिलो विकल्पका रुपमा अघि बढाइएको छ भने दोस्रो विकल्पका रुपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैँडाकोटसम्मको सडकलाई लिइएको छ ।

यी दुवै विकल्पका सडकको विस्तृत डिजाइनका लागि परामर्शदाता छनोट गरिसकिएको स्रोतले जानकारी दियो । यी दुई सडकसँगै अन्य सात वटा सडक र तीन वटा पुलसमेतको डिजाइनका लागि कोरियन परामर्शदाता छनोटमा परेको छ । अन्य सडक र पुलका लागि एक वर्ष छ महिनाको समय तोकिएको भए पनि मलेखुबाट भण्डारासम्मको सडकका लागि भने एक वर्षभित्रमा परामर्शदातालाई प्रतिवेदन बुझाउन भनिएको छ ।

बाटो खोलिसकेको र सडकमा सवारी कम गुड्ने हुँदा काम गर्न पनि सहज हुने भएकाले छिटो निर्माण गर्न सकिने अनुमान छ ।

दोस्रो विकल्पका रुपमा लिइएको मुग्लिन–देवघाट–गैँडाकोट सडक पनि चट्टानको फेदमा नदीको तिरैतिर बनाउनु पर्ने हुन्छ । हालको नारायणगढ–मुग्लिन सडकलाई विस्तार गर्न कठिन हुँदा विकल्पका रुपमा मानिएको भए पनि धेरै फराकिलो भने सो सडक बनाउन कठिन देखिएको छ । पश्चिमबाट आउने सवारीलाई सो सडक प्रयोग गरेर, पूर्वबाट आउने सवारीलाई भण्डारा–मलेखु सडक प्रयोग गर्दा सवारी चाप व्यवस्थापन गर्न रहेको छ ।

प्रतिक्रिया दिनुहोस्