साताको नेप्से ३१ सय ७९ अंकमा : ७९ अर्ब २६ करोडको सेयर किनबेच

काठमाडौं , साउन २९ । यो साता नेप्से तीन हजार एक सय ७९ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ९१ दसमलव १६ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता दुई सय ३० वटा कम्पनीहरुको सेयर कारोवार भएकाछन् । जसबाट सात लाख १३ हजार सात सय ३० पटकको कारोवारमा १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएका थिए । जसबाट छ लाख नौ हजार छ सय १८ पटकको कारोवारमा १३ करोड १० लाख २४ हजार नौ सय ११ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार नौ सय ५५ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा पाँचै दिन बढेको छ ।

सो मध्ये पहिलो दिन नेप्से शुन्य दसमलव ६६ अंकले बढेर तीन हजार आठ दसमलव १२ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७८ अंकले बढेर पाँच सय ७८ दसमलव नौ अंकमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से एक दसमलव ५४ अंकले बढेर तीन हजार एक सय नौ दसमलव ६६ अंकमा पुगेकोमा सेन्सिटिभ भने दुई दसमलव पाँच अंकले घटेर पाँच सय ७५ दसमलव ९५ अंकमा झरेको थियो ।

तेस्रो दिन भने नेप्से ५१ दसमलव ८६ अंकले बढेर तीन हजार एक सय ६१ दसमलव ४४ अंकमा चढेकोमा सेन्सिटिभ पनि १२ अंकले बढेर पाँच सय ८७ दसमलव ९५ अंकमा चढेको थियो । चौथो दिन पनि नेप्से शुन्य दसमलव ९४ अंकले बढेर तीन हजार एक सय ६२ दसमलव ५९ अंकमा चढेकोमा सेन्सिटिभ भने दुई दसमलव ३८ अंकले घटेर पाँच सय ८५ दसमलव ७१ अंकमा झरेको थियो ।

पाँचौं दिन भने नेप्से १६ दसमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ४६ अंकले बढेर पाँच सय ९१ दसमलव १६ अंकमा पुगेको थियो ।

यो साता बढी रकम रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदि परेकाछन् ।

यसैगरी सेयर कारोवार भएका संख्याको आधारमा पनि यो साता नेशनल हाईड्रो पावर कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि परोछन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् । सेयर सुचीकरणतर्फ भने यो साता सबैको लघुबित्त बित्तीय संस्था, नेपाल बैंक र कृषि बिकास बैंकको बोनस सेयर एवं ऋणपत्र सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्