देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त हुँदैन : मन्त्री शर्मा
काठमाडौं, साउन २५ । अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको बताएका छन् । सोमवार नेपाल आर्थिक सङ्घले अर्थ मन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरूको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताए । आफूले यस विषयमा योजना बनाइरहेको पनि मन्त्री शर्माले जानकारी गराए ।
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौँ भन्ने घमण्ड कर्मचारीहरूमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरूको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए ।
नेपाल आर्थिक सङ्घका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरूले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसङ्ग उल्लेख गर्दै आउँदा दिनमा पनि त्यो क्रम जारी रहने वचन दिए ।
यस्तै अर्थविद डा। भवानी ढुंगाना, डा। शिवराज अधिकारी, गोपाल तिवारीलगायतले नयाँ सरकारसँग काम गर्नका लागि पर्याप्त समय नरहेको भन्दै नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने खालका स–साना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्