बाढीले मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्बको क्षति

काठमाडौँ , साउन १८ । शुक्रबार राति बाढीसँगै आएको पहिरोले मेलम्चीमा खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिलाई आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण मेलम्चीमा १ अर्ब ८८ करोड बराबरको क्षति भएको हो ।

मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किमिमध्ये ८ किमि सडक पूर्ण रुपमा क्षति भएको, याङ्ग्रीतर्फ ५ किमि सडक क्षति भएको बताएको छ ।

पहिरोसँगै आएको लेदोसहितको बाढीले ६ वटा पक्की पुल र अस्थायी कफरड्याम समेत बगाएको छ । पहिरोले आयोजनाको २१० किलोमिटर डाइभर्सन टनेल र अम्बाथान स्थित टनेल अडिट पोर्टमा लेदो भरिएको श्रेष्ठले बताए ।

हेडवर्क्सको पक्की संरचनाहरु (पक्की बाँध, गेटहरु, जेनेरेटर घर र कन्ट्रोल हाउस)पुरिनुका साथै निर्माण सामाग्री र निर्माण उपकरणहरु र कन्ट्रयाक्टर लेबर क्याम्प समेत बगाएको छ ।

यता प्राविधिक निरिक्षणको लागि सुरुङको मुख्य गेट बन्द गरिएकोले मुख्य टनेलमा भने क्षति नपुगेको अनुमान मेलम्ची खानेपानी आयोजनाले गरेको छ ।

त्यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सचिव प्रमिलादेवी आचार्यले बाढीका कारण आयोजनामा कार्यरत ३ जनाको मृत्यु भएको र अझै ५ जना बेपत्ता रहेको जानकारी दिइन् ।

शुक्रबारको बाढी आउनुपूर्वको अवस्थासम्म आगामी माघसम्म काठमाडौं पानी ल्याउने गरी मर्मत गर्न सकिने अनुमान गरिए पनि अब भने त्यो सम्भव नभएको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्