सिभिल बैंकले सार्वजनिक गर्यो सर्वाधिक ब्याजदरसहितको दुई निक्षेप योजना
काठमाडौं, साउन ३ । सिभिल बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउनेगरी दुई नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले सुपर प्रिमियम वचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट) ल्याएको हो ।
२५ हजार न्यूनतम मौज्दात रहेको “सुपर प्रिमियम वचत खाता” मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेटलाईफसँगको सहकार्यमा ६ वटा घातक रोगहरू (मेजर क्यान्सर, मेजर स्ट्रोक्स,पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) को दुई लाखसम्मको निःशुल्क औषोधपचार बिमा सुविधा प्रदान गर्ने जनाएको छ । साथै निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यसैगरी खुत्रुके खातामा अन्य बैंकहरूले प्रदान गरिरहेको रिकरिङ डिपोजिटहरूमा जस्तै सर्त तथा बन्देजहरू नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्ष देखि दश वर्षसम्मको अवधि चयन गरेर मासिक न्यूनतम पाँच सयदेखि माथि संचय गर्दै जान सक्नेछन् ।
कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समयसीमा पश्चात् साँवा तथा ब्याजको एकमुष्ट भुक्तानी पाउने बैंकले जनाएको छ । यस खातामा सुपरप्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।
केहिगरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा संचित रकमको ७० प्रतिशत ऋणमा नै बिना झन्झट रकम निकाल्न सकिने पनि बैंकले जनाएको छ ।
यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८. ७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्