आज देखि भृकुटिमण्डपमा जुत्ता चप्पल मेला सुरु

काठमाडौ । नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आज बिहिवारदेखि जुत्ताचप्पल मेला सञ्चालन गरिएको छ । उक्त मेला आउँदो फागुन १९ गते सनिवार सम्म सञ्चालन हुनेछ । नेपाली ब्राण्डका जुत्ता चप्पलको थप बजार प्रवर्दन गरी ग्राहकलाई एकै थलोबाट सस्तो मूल्यका जुत्ता चप्पल विक्रि गर्ने उद्देश्यले जुत्ता मेला सञ्चालन गरिन लागेको आयोजक संघले जनाएको छ ।

संघका अनुसार, स्वदेशी जुत्ताचप्पल उत्पादनबारेमा उपभोक्तालाई स्थलगत अवलोकन गराई बजार विस्तार गर्नु मेलाको उद्देश्य रहेको छ । मेला अवलोकनमा आउने उपभोक्तासँग प्रत्यक्ष भेटी उनीहरुको सुझाब अनुसारको जुत्ता चप्पल उत्पादन गर्ने लक्ष्य रहेको संघको भनाइ छ । मेलाका माध्यमबाट स्वदेशी उत्पादन प्रवद्र्धन गरि बजार विस्तार गर्नु मेलाको उद्देश्य हुनेछ । यस्तै नेपाली जुत्ताचप्पल उद्योगी ब्यवसायीबिच स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट उत्पादन विक्री र वितरणका लागि मेलाले सहयोग पुर्याउने अपेक्षा संघले लिएको छ ।
उपभोक्ताले मेला स्थलबाट छुटसहित जुत्ताचप्पल खरिद गर्न सक्नेछन् । महिला तथा पुरुषका लागि आधुनिक डिजाइनका जुत्ताचप्पल प्रदर्शनी तथा बिक्रिमा राखिने आयोजक संघले बताएको छ । मेलामा उच्च प्रविधिबाट उत्पादन गरिएका जुत्ताचप्पल ग्राहकले छुट मुल्यमा खरिद गरी लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्