ईजरायलबाट आइपुग्यो २० करोडको स्वास्थ्य सामाग्री नेपाल
काठमाडौँ, असार २३ । ईजरायलका लागि नेपालकी राजदूत डा। अन्जान शाक्यको पहलमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तथा उपकरण ईजरायलबाट नेपाल आइपुगेको छ ।
ती स्वास्थ्य सामग्री नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइटमार्फत नेपाल ल्याइएको हो । निगमको जहाज स्वास्थ्य सामग्री लिएर आज बिहान ११ स् १० मा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको दूतावासले जानकारी दिएको छ ।
विमानस्थलमा नेपालका लागि ईजरायली राजदूत हनान गोडेरले परराष्ट्र र स्वास्थ्य मन्त्रालका पदाधिकारीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको दूतावासले जनाएको छ ।
‘नेपाल आएका ती स्वास्थ्य सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप प्राप्त भएका हुन्,’ राजदूत डाक्टर शाक्यले भनिन्, ‘करिब २० करोड रुपैंया बराबरको १८ टन स्वास्थ्य सामग्री छ ।’
राजदूत शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पीपीई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन् ।
‘कोभिड—१९ सम्बन्धी ईजरायलले अपनाएको उपचार पद्धतिका बारेमा नेपाललाई सहयोग गर्न नेपाल सरकारसँगको समन्वयमा ‘स्मार्ट कोभिड कमाण्ड कन्ट्रोल रुम’ स्थापना गर्न सफ्टवेयर तथा आवश्यक उपकरणहरु समेत पठाएको राजदूत डा। शाक्यले बताइन् ।
उनका अनुसार यसका लागि प्राविधक विज्ञहरुले नेपालको सीसीएमसीसँग जुम मिटिङ मार्फत आवश्यक परामर्श दिन थालिसकेका छन् ।
नेपाल ईजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलो पटक अवतरण भएको हो ।
प्रतिक्रिया दिनुहोस्