मनसुन भित्रिएको २१ दिनमा ३३ को मृत्य, ३० बेपत्ता, आज पनि देशका धेरै ठाउँमा लगातार झरी पर्ने

काठमाडौं, असार १८ । नेपालमा मनसुन भित्रिएको २१ दिनको अवधिमा बाढी पहिरो, डुबानमा परेर ३३ जनाको ज्यान गएको छ ।
नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।

गृह मन्त्रालयले हिजो बेलुका अद्यावधिक गरेको तथ्याङ्कअनुसार २१ दिनको अवधिमा बाढी पहिरोमा परेर ३३ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको ज्यान गएको छ भने डोटीमा चार, रोल्पामा तीन तथा प्युठान, रौतहट, तनहुँ र चितवनमा दुई–दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालीकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक–एक जनाको ज्यान गएको छ ।

यस्तै यो अवधिमा ३० जना बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् । यस्तै यो अवधिमा बाढी, पहिरो तथा डुबान र कटानबाट ११२ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने ४७५ घरमा आंशिक क्षति पुगेको छ ।

लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो आएको छ भने केही क्षेत्र डुबानमा परेको छ । मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ । दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश–१ र प्रदेश–२ मा झरी परिरहेको छ ।

गए राति सबैभन्दा धेरै चितवन, मकवानपुर, विराटनगरलगायत क्षेत्रमा पानी परेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनाइएको जानकारी पनि मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज दाहालले जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङलगायत २६ वटा जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेको जानकारी दिँदै खोज तथा उद्धार र राहत कार्य निरन्तर जारी राखेको बताए ।

हालसम्म मुलुकभर २७ को मृत्यु, २६ बेपत्ता, १९ जना घाइते भएका छन् । हेलिकप्टरबाट २६८ जना र सुरक्षाकर्मीले चार सय जनाको उद्धार गरेका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरोपीडित एक हजार छ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै ४६२ घर तथा भवन पूर्ण रूपमा र ११० आंशिक रूपमा क्षति पुगेको छ । सम्भावित मनसुनजन्य जोखिम कायमै रहेकाले नदी किनार, खोला–खोल्सा, खहरे नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यस वर्षको मनसुनजन्य विपत््बाट क्षति भएका निजी घर पुनर्निर्माणका लागि दुई करोड ८६ लाख रकम निकासा भई विपत्् पीडितलाई वितरणको प्रक्रियामा रहेको जानकारी प्रवक्ता दाहालले दिए ।

प्रतिक्रिया दिनुहोस्