खुला गर्यो भारतले एक वर्षदेखि रोकिएको पाम तेलको निकासी
काठमाडौं, असार १७ । भारतले एक वर्षदेखि रोकिएको पाम तेलको निकासी खुला गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार शाखाले पाम तेलको आयात खुला गरेसँगै अब नेपालबाट निकासी खुला भएको हो ।
भारतले एक सुचना जारी गर्दै बुधबार पाम तेलको आयात खुला गरेको जनाएको छ । १३ महिनापछि भारतले खुला गरेको आयात भने ६ महिनाका लागि मात्रै रहनेछ । योसँगे विभागको सूचना अनुसार ३१ डिसेम्बरसम्म मात्रै आयात खुला गरिएको छ ।
एक वर्षभन्दा बढी समयदेखि रोकिएको निकासी खुला हुँदा पाम तेल उत्पादन गर्ने उद्योगहरुलाई भने राहत मिलेको छ ।
भारतले आयात खुला गरे पनि नेपालबाट भने निकासी शुरु गर्न केही दिन लाग्ने बताएको छ ।
अब एक महिनापछि मात्रै पाम तेलको निर्यात सहज हुनेछ । ६ महिनाका लागि खुला भएको निकासीले निर्यातको व्यापारलाई बढाउने अपेक्षा उद्योगीहरुले गरेका छन् । उता मोरङमा मात्रै सात वटा पाम तेलका उद्योगहरु छन् भने देशभर २० वटा पाम तेल निर्यात गर्ने उद्योगहरु छन् ।
ती उद्योगले मलेसियाबाट कच्चा पदार्थ आयात गरी पाम तेल बनाएर भारततर्फ निकासी गर्दै आएका थिए । भारतले आयात बन्द गरेपछि उद्योगहरुले उत्पादन कटौती गरेका थिए । नेपालका उद्योगीले मलेसिया र इन्डोनेसियाबाट पाम तेल उत्पादनका लागि कच्चा पदार्थ आयात गर्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्