माथिल्लो तामाकोसीको परीक्षण अन्तिम चरणमा, सोमबार ७६ मेगावाट बिजुली उत्पादन हुने
काठमाडौं, असार १५ । माथिल्लो तामाकोशीको परीक्षण अन्तिम चरणमा पुगेको छ । योसँगै अब स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आगामी सोमबार विद्युत उत्पादन हुने भएको छ।
२१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको आयोजनाले जनाएको छ।
पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ। ७६र७६ मेगावाटका ६ युनिट रहेको आयोजनाको कुल जडित क्षमता ४५६ मेगावाट रहेको छ।
जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरिएको बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणसहित सबै प्रकारका परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। अहिले विद्युतगृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ।
आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ। यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ। हाल प्रसारण लाइनको परीक्षण भइरहेको छ। आयोजनाको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्म ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ।
सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ।
सबस्टेसन १५ दिनभित्रमा सञ्जालनमा आउने छ। यस्तै व्यवसायिक उत्पादन सुरु भइनसकेकाले आयोजनको लागत भने बढेको बढ्यै छ। यसरी सर्सती हेर्दा ८५ अर्ब बढी लागत लागिसकेको छ। कम्पनीको लागत प्रतिमेगावाट १८ करोड ६४ लाख लागिसकेको छ।
प्रतिक्रिया दिनुहोस्