सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु

काठमाडौं । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ । सिरियाली सहायता संगठनका कार्यकर्ताहरुले सन् २०१३ मा राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् ।

संयुक्त राष्ट्र संघले यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको जनाएको छ । राष्ट्र संघले दुई दिनको आक्रमणमा ६ वटा अस्पताललाई निशाना बनाइएको दाबी गरेको छ ।

संयुक्त राष्ट्र संघका प्रवत्ता रियाल लेबलाङ्कले नागरिक, अस्पताल र विद्यालयमा लगातार भइरहेको हिंसाको निन्दा गरेका छन् ।

उनले सिरियामा मानवीय कानुनको चरम उल्लंघन भएको भन्दै सबै पक्षलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

सिरियामा लगातार सर्वसाधारण मारिएका खबरहरु सार्वजनिक भइरहँदा त्यहाँको सेनाले त्यसको खण्डन गरेको छैन ।

उसले सेनाविरुद्ध जहाँबाट आक्रमण गरिएको हो त्यहीँ प्रतिकार गरिएको जनाएको छ ।

सिरियाका सांसदहरुले भने चरमपन्थीमाथि नै हमला गरिएको जनाएका छन् । उनीहरुले आक्रमणमा नागरिकलाई निशाना नबनाइएको दाबी गरेका छन् ।

सरकारी सेनाले पूर्वी गुटालाई आतंकवादी समूहबाट मुक्त गर्ने प्रयास भइरहेको दाबी गरेको छ ।

राजधानी दमास्कस नजिक रहेको यो शहर विद्रोहीले कब्जामा लिएको अन्तिम शहर हो । रुसको समर्थन पाएको सरकारी सेनाले यो क्षेत्रलाई कब्जा मुक्त गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्