पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका–११, नेपालटारमा मंगलबार बेलुकी बाटो काटिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भइ गुडिरहेको बसमा ठोक्किएको थियो ।

प्रहरीका अनुसार बाइपासबाट शेषमतीतर्फ आउँदै गरेको बा७९प २९८५ नम्बरको मोटरसाइकल सडक पार गर्दै गरेको पैदलयात्रीलाई बचाउने क्रममा अनियन्त्रित भइ विपरीत दिशाबाट जाँदै गरेको बा३ख २६१३ नम्बरको बसमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक नुवाकोट ताँती गाँउपालिका–६ घर भइ हाल काठमाडौं काभ्रेस्थली बस्ने २६ बर्षीय चन्द्रप्रकाश मोक्तानको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पछाडी सवार खोटाङ घर भइ हाल काठमाडौं बानियाटार बस्ने २२ बर्षीय मिलन परियारको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्