अर्थले ७० करोड नदिँदा हुलाकी सडक अलपत्र

काठमाडौं  । अर्थ मन्त्रालयले सुनिश्चितता गरेको ७० करोड रुपैयाँ नदिएपछि हुलाकी सडक निर्माणमा ढिलाइ भएको छ। राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको हुलाकी सडक निर्माणमा अर्थले पैसा नदिँदा ढिलाइ भएको हो। अर्थले रकम दिने सुनिश्चित गरेपछि ११ वटा सडकको ठेक्का भइसकेको हुलाकी सडक निर्देशनालयले जनाएको छ। ठेक्का भइसके पनि ‘मोविलाइजेसन’ बापत रकम ठेकेदार कम्पनीले नपाएका कारण काम सुरु हुन सकेको छैन्। ठेकेदार ‘फिल्ड’ जान सकेका छैनन्।

सडक आयोजना अन्तर्गतको दोस्रो चरणमा निर्माण थालिएका ११ वटा सडकमध्ये पाँचले ‘मोविलाइजेसन’ बापतको एक पैसा पनि पाएका छैनन् भने ६ वटालाई मात्रै ‘मोविलाइजेसन’ बापतको केही रकम उपलब्ध गराइएको छ। ठेक्का हुने वित्तिकै निर्माण कम्पनीलाई १० प्रतिशत रकम दिनुपर्ने व्यवस्था छ। ठेक्का भएको महिना बितिसकेको छ।

केसलिया-चिम्डी-हरिनगर लौकही, बलान-कमला, बासभित्ती-बल्बा-परोल-हर्दी, अरुवा (कचोर्वा)-कलैया बारा जिल्ला सीमा र महेन्द्रराजमार्ग कठौना पातो सडकले रकम पाएका छैनन्।

यद्यपि, भारदह कन्चनपुर राजविराज बलान, कमला जनकपुर बासभित्ती, बागमती (वहरहवा) फतुवा महेशपुर अरुवा, महेन्द्र राजमार्ग बाँके संग्रामपुर सडक, महेन्द्र राजमार्ग फुलजोर बयलबास त्रिभुवननगर सडक र गढीमाई बरियारपुर कोल्बी सडकले ‘मोविलाइजेसन’ रकम आएको छ।

रकम नहुँदा निर्माण कम्पनीले काम अगाडि बढाउन नसकेका छैनन्। आयोजनाले आन्तरिक स्रोतबाट ६० करोड रुपैयाँ मोविलाइजेसन रकम निर्माण कम्पनीलाई उपलब्ध गराएको छ। अर्थले नदिएपछि ७० करोड रुपैयाँ उपलब्ध गराउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्