मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, २० भन्दा कममन्त्री बन्ने

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको संख्या घटाउन लागिएको हो । 

सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रस्तावअनुसार प्रधानमन्त्री कार्यालयसहित १५ वटा मन्त्रालय हुनेछन् । यसैको सेरोफेरोमा रहने गरी मन्त्रालय निर्धारण गर्ने तयारी भइरहेको प्रधानमन्त्रीनिकट नेताहरूले जानएका छन् ।

‘सानो छरितो मन्त्रिपरिषद् बनाउने प्रधानमन्त्रीको योजना छ,’ ओलीका निकट सहयोगी एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालले भने, ‘यसका लागि मन्त्रालयहरूको संख्या घट्नेछ ।’ हाल प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालय छन् । संविधानअनुसार बढीमा २५ जनासम्म मन्त्री राख्न पाइन्छ ।

संघीय प्रशासनिक पुनस्संरचना समितिले प्रदेशमा ७ र केन्द्रमा १५ मन्त्रालय प्रस्ताव गरेको छ । त्यसअनुसार केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ तथा योजना, उद्योग वाणिज्य आपूर्ति तथा श्रम, कानुन न्याय तथा संसदीय व्यवस्था, कृषि सहकारी तथा भूमि व्यवस्था, गृह, जलस्रोत तथा ऊर्जा, परराष्ट्र, वन विज्ञान तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, महिला, सामाजिक न्याय तथा संघीय मामिला, रक्षा, शिक्षा तथा सञ्चार, संस्कृति पर्यटन नागरिक उड्डयन तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या रहनेछ ।

प्रतिक्रिया दिनुहोस्