एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने बोर्डको निर्णय

काठमाडौँ, जेठ १६ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ ।

बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको थियो । कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम बढेदै गएपछि बार्डले गत वैशाख २७ गते १२ कक्षा र एसईई परीक्षाको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो ।

बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसइई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

यता कक्षा १२ को वार्षिक परीक्षाको लागि भने तत्काल केही निर्णय नभएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्