टन्सिल रोग होइन

हाम्रो मुखको पछाडी दाहिने र देब्रे कुनामा टन्सिल रहेको हुन्छ । टन्सिल आफैंमा रोग होइन । घाँटीको संक्रमणले गर्दा कहिले काही टन्सिल सुन्निने र पाक्ने गर्छ । यस्तो स्थितिलाई टन्सिलाइटिस् भनिन्छ । प्रायः बच्चालाई टन्सिलाइटिस् धेरै मात्रामा हुने गर्छ । यो समस्या जुनकुनै उमेर समूहका मानिसमा पनि हुन्छ । यो समस्या एकपटक देखिन पनि सक्छ ।  यस कारण हुन्छ टन्सिलाइटिस्  टन्सिलाइटिस् हुने प्रमुख कारण संक्रमण नै हो । सुरुमा भाइरल संक्रमण हुने र पछि ब्याक्टेरियाले थप संक्रमण गरेपछि टन्सिल पाक्ने र सुन्निने हुन्छ । बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकाइ नामको ब्याक्टेरियाबाट यसको संक्रमण हुन्छ ।

लक्षण

– घाँटी दुख्ने

– थुक निल्न पनि गाह्रो हुने

– ज्वरो आउने

– टाउको दुख्ने

– टन्सिलमा पिप देखिने

– खाना खान मन नलाग्ने

– आलस्य हुने

– घाँटीको ग्रन्थीहरू सुन्निने

– वान्ता हुने

– वाक्वाकी लाग्ने

 पेट दुख्ने  पहिचान कसरी गर्ने

टन्सिलाइटिस् भए/नभएको थाहा पाउन घाँटीको जाँच गर्नु पर्ने हुन्छ । टन्सिल सुन्निएमा र पिप देखिएमा टन्सिलाइटिस् भएको यकिन हुन्छ । रगतको जाँचले रोगको गम्भीरता थाहा पाउन सकिन्छ । घाँटीको थुकको कल्चरले कुन ब्याक्टेरियाका कारण संक्रमण भएको हो पुष्टि हुन्छ ।

उपचार विधी

टन्सिलाइटिस्को उपयुक्त उपचार एन्टीबायोटिकको प्रयोग नै हो । चिकित्सकको सल्लाहमा मात्रै एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ । फार्मेसीबाट आफुखुसी औषधि ल्याएर कदापी खानु हुँदैन । दुखाई कम गर्ने औषधि र घाँटी कुल्ला गर्ने औषधिले पनि संक्रमण घटाउन मद्दत पुग्छ । यो बेला चिसो र चिल्लो खानेकुरा खानु हुँदैन ।

कस्तो अवस्थामा गर्ने टन्सिलको शल्यक्रिया

बारम्बार दुःख दिइरहने टन्सिललाई अपरेसन गरेर निकाल्ने गरिन्छ । निम्न अवस्थामा चिकित्सकले टन्सिलको शल्यक्रिया गरी निकाल्ने गर्छन :–

– एक वर्षमा सात चोटि वा सो भन्दा बढी टन्सिलाइटिस् भएमा वा दुई वर्षसम्म हरेक वर्ष पाँच चोटि भन्दा बढी टन्सिलाइटिस् भएमा ।

– टन्सिलाइटिस्को जटिलता स्वरुप टन्सिलको वरिपरि दोस्रो पटकसम्म पिप जमेमा ।

स्रोतः हाम्रो डाक्टर डट कम

प्रतिक्रिया दिनुहोस्