मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त

काठमाडौं, ३ साउन । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन्।

डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्षका रूपमा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका थिए।

उनले भरतपुर अस्पताललाई अन्य संस्थामा निर्भर नरहने गरी आफ्नै कानुनी आधारमा राष्ट्रिय चिकित्सा विज्ञान संस्थानको स्वरूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए।

स्वास्थ्य सेवा सुधार, सरकारी अस्पतालको व्यवस्थापन तथा चिकित्सा शिक्षाका विषयमा समेत डा। पौडेलले सार्वजनिक रूपमा धारणा राख्दै आएका छन् ।

सरकारी अस्पतालको क्षमता अभिवृद्धि गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन्। काउन्सिलको अध्यक्षका रूपमा अब उनले चिकित्सकीय पेशाको नियमन, चिकित्सकको व्यावसायिक आचरण तथा चिकित्सा शिक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।

उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस उत्तीर्ण गरेका छन् । त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए ।

डा. पौडेल नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्