देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिट लिएर सांसदहरु पुगे सर्वोच्चमा

काठमाडौं, जेठ १० । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिट लिएर बहुमत सांसदहरु सर्वोच्च अदालतमा पुग्ने क्रम जारी छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाका गरी १ सय ४६ सांसदको हस्ताक्षरसहित नेताहरु सर्वोच्च पुगेका हुन्।

सर्वोच्च जानुअघि सबै सांसदहरुको नागरिकता समेत संकलन गरिएको थियो।यही जेठ ७ गते संविधानको धारा ७६ (५) अनुसारको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १ सय ४९ सांसदलले हस्ताक्षर बुझाएका थिए।

तर, सो दाबीलाई राष्ट्रपतिले खारेज गरेर सोही मध्यराति नयाँ सरकार बन्ने दाबी नपुगेको भन्दै केपी शर्मा ओली सरकारको सिफारिसमा संसद भंग गरेर निर्वाचनको मिति तोकेपछि उनीहरु असन्तुष्ट हुँदै अदालतमा प्रधानमन्त्री नियुक्तिको माग लिएर मुद्दा दर्ता गर्न पुगेका हुन्।

हस्ताक्षर गरेका तिनै पाँच दलबीच कानुनी र राजनीतिक लडाइँ लड्ने सहमति समेत बनेको छ।सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध आइतबार मात्र २५ रिट परेको छ।

सर्वोच्च पुग्ने सांसदहरुमा लीलामणि पोखरेल, मातृका यादव, शशी श्रेष्ठ, धर्मशिला चापागाईंलगायत छन्।

प्रतिक्रिया दिनुहोस्