मृत्यु शैय्याबाट अन्तिम उद्घोष
घाम अस्ताउनु अघि
घ्यार घ्यार बजिरहेको छ श्वासनली
हजुरकै सम्झनामा
हिक्कहिक्क फुटिरहेको छ बाडुली
मालिक छुट्टिने बेलामा पनि
सम्झिनुभएन कठै
नेपाल राज्यमा
डोटीराज्य विलय हुनु अघिदेखि
देउतै मानेर छोएका हुन्
मेरा पुर्खाले हजुरको पाउ
खुट्टा छुँदा पनि
छोइछिटो नहाली भित्र पसेनौ भनेर
कहाँ दुखेको थियो र मन ।
कति राजा, महाराजा बद्लिए
कति सय वर्ष बद्लिए
बुझ्नु भएन र हजुर
त्यो देशै बद्लियो
तर तमी त जस्ताका त्यस्तै रहेछौ ।
यो राज्यमा जति बनेका थिए
हजुरका बिलासी दरबार
ती ढुंगामा कुँदिएका बुट्टा
बुट्टा नभएर मेरै पुर्खाका करङका छाप थिए।
जति रोपिए हजुरका सेरा
त्यहाँ जोतिएको हलो
मेरै पुर्खाको नलिहाडमा थामिएको थियो
डोकोभरी टनकपुर र ब्रह्मदेउ बोकर
हामीले नै स्वादिलो बनाएका थियौं
हजुरको भान्सा ।
यो त तम्रा लागि हामीले गरेको
चाकरी थियो सम्झिनु होला?
अर्को कुरा सुनिबक्सियोस,
अमरसिंह थापाको पालामा
अल्मोडामा काटिने भगुवा दमाई को थियो ?
को थिईन बिजुली चम्केसरी तलवार नचाएर
लडाईमा होमिएकी शोभा पात्तर?
र को थियो, डोटीराज्य जोगाउन नपाउँदै
सेती घाटमा बिलय भएको मधुवा आउजी?
तम्रै नाममा लेखिए शिलालेख
तम्रै नाममा कुँदिए ताम्रपत्र
हाम्रो सहादत पनि सामान्य मरण बन्यो
हामी त अनाम मान्छे भएर
हजुरकै पैतालामुनी हराएछौं!
नवदुलहीलाई मालिक्नी सम्झेर
काँधमाथि राखेर जुगौंजुग बोकिरह्यौं डोला
कहिल्यै बुझ्नु भएन
डोलेको पनि मन हुन्छ भनेर
कोइला सरी राफमा
फलाम जस्तै तातो बनेर
पग्लिरह्यौं जेठको धुपमा
कहिल्यै सम्झिनु भएन
यीनका पनि हड्डी दुख्छन् भनेर
बुन्दाबुन्दैको डोको
अधुरै छोडिदिए जस्तो
बनिरह्यो गरिबको जिन्दगी
भोकका लागि जति थियो
त्यो भन्दा अझै बर्ता
बोकिरह्यौं अपमानको भारी
तै पनि कहाँ भन्यौं र
हाम्रो पनि कटकटी चित्तदुखेको छ भनेर
कहिँ कहिल्यै साथ नछोडेर
जनमभरि सँगै हिँडेको मान्छे
यो बिकराल घडीमा
कसरी बन्यो यति धेरै बिरानो ?
यसबेला, यो धर्तीमा
किन शून्य देखिरहेकोछु आफ्नै घरको टहरो?
भनिबक्सियोस मालिक
कहाँ गयो सोलसय डोटी ?
कँहा गए मैले काँध चढाएका गोसाइँहरु?
आज मेरो लास उठ्ने दिन
किन एक्लै टोलाइरहेको छ मेरो छोरो ?
प्रतिक्रिया दिनुहोस्