प्रधानमन्त्री र सात मन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, जेठ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्न इन्कार गरेपछि सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ ।

प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने जिकिर गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र ओली र सन्तोष भण्डारीले सोमबार दायर गरेको मुद्दाको आज सर्वोच्चमा आज सुनुवाइ हुन लागेको हो । ओलीले पूर्ण शपथ नलिएकाले फेरि गराउनुपर्ने माग गरिएको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो ।

आज सुनुवाइ गरेर सर्वोच्च अदालतले यो विषय टुंगो लगाउने छ ।केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री पदको शपथ खाँदा ‘प्रतिज्ञा गर्छु’ शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्ट्रपतिले दोहोर्‍याउँदा समेत ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

त्यस्तै उनले पुनर्नियुक्ति दिएका सात मन्त्रीविरुद्ध परेका रिट निवेदनको सुनुवाइ पनि आजै हुने भएको छ । सांसदै नरहेका व्यक्तिलाई पुनः मन्त्रीमा नियुक्ति दिनु कानुनविपरीत भएको जिकिर निवेदनकर्ताले गरेका छन् । उनीहरूको नियुक्ति बदर गरिनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्