राष्ट्रियसभा सदस्यमा तीन जनाको नयाँ नाम सिफारिस !
काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो ।
अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गरेर केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले नयाँ नाम सिफारिस गरेको हो ।
देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयले सो सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको थियो ।
५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । हरेक प्रदेशबाट ८/८ जनाको दरले ५६ जना निर्वाचित भइसके पनि ३ जना भने नियुक्त गर्न बाँकी थियो ।
प्रतिक्रिया दिनुहोस्