आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने गृहकार्यमा काँग्रेस

काठमाडौं , बैशाख २६ । नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेश गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको काँग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकार निर्माणको पहल गरेको हो ।

यसका लागि दलहरूसँग छलफल चलिरहेको र नेकपा माओवादी केन्द्रले काँग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए ।

उनले अलमलमा रहेको जनता समाजवादी पार्टीलाई पनि वर्तमान सरकारबाट मुलुकलाई पुग्ने क्षतिबाट देश र जनतालाई बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा उभिन आग्रह गरे ।

आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले नेपाली काँग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न सके कोभिड १९ रोकथाम तथा नियन्त्रण गरि, मुलुकलाई भ्रष्टाचार मुक्त बनाई आउँदो निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न हुन सक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्