प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
काठमाडौं– सरकारले प्रदेशको कामकाजकालागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् ।
बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् । कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन् ।
सचिवदेखि कार्यालय सहयोगीसमेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ । खटाएका प्रदेश कार्यालयमा नजाने निजामती कर्मचारीलाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशमा खटाइएका कर्मचारीलाई तत्काल रमाना दिन सम्बन्धित कार्यालय प्रमुखलाई पटक–पटक ताकेता गरिरहेको जनाएको छ ।
तर, खटाएका कर्मचारीले विभिन्न शक्तिकेन्द्र प्रयोग गरेर सरुवा रद्द गर्न दबाब दिन लागेको र खटाएको ठाउँमा नगएपछि उनीहरूमाथि आवश्यक कारबाही गर्नुपर्ने स्थितिमा पुगेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
त्यस्ता कर्मचारीलाई कारबाही गर्नेबारे प्रधानमन्त्री केपी ओलीलाई समेत जानकारी गराइसकेको प्रधानमन्त्री कार्यालयका एक सचिवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्