राष्ट्रिय वाणिज्य बैंकका सिइओसहित ५२ जना कर्मचारीलाई कोरोना

काठमाडौं, वैशाख १५ । राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा आफूसहित ५२ कर्मचारीमा संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए। ‘म एक हप्तादेखि नै होम आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ’ उनले भने।

संक्रमितमध्ये केन्द्रीय कार्यालयका मात्रै आधा संख्या रहेको उनले स्पष्ट पारे। ‘पहिले शाखाका कर्मचारीमा संक्रमण देखियो, अहिले केन्द्रीय कार्यालयका कर्मचारीमा देखियो’ उनले भने। कोभिड–१९ बाट बढी प्रभावित हुनेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि पर्छन्।

कोरोना संक्रमण बढ्दै गएको भन्दै भोलिदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरिएको छ।

तर यसबीचमा पनि बैंक तथा वित्तीय संस्थाहरुले भने आफ्नो सेवा सुचारु राख्ने भएका छन्। स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरेर सेवाहरु सुचारु हुने श्रेष्ठले बताए।

यता आफ्नो परिचयपत्र देखाएर बैंकका कर्मचारी आवतजावत गर्न पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अहिले कोरोना संक्रमण धमाधम सबैमा देखिन थालेको नेतादेखि कर्मचारीसम्ममा पुष्टि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्