कोरोनाबाट वडाध्यक्षकी पत्नीको मृत्यु, गाउँपालिकामा लकडाउन

काठमाडौं, बैशाख १३ । दाङको बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीकी पत्नीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

वडाध्यक्ष ओलीकी पत्नी युवा ओलीको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलका अनुसार उनलाई आइतबार मात्रै कोरोना पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । कोरोना संक्रमणले ग्रसित उनको उपचारकै क्रममा मृत्यु भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

गाउँपालिका लकडाउन

यसैबीच संक्रमण तीव्र बनेपछि सोमबार बिहानदेखि बबई गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितको संख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए ।

बबई गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्