आज देशभर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै

काठमाडौं । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ ।

दिवसका उपलक्ष्यमा सार्वजनिक बिदासमेत दिने गरिएको छ ।

१ सय ४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ साल माघमा बलिदानी दिएका थिए ।

प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

२००० सालपछि स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाल राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्