भारतमा एकैदिन ३ लाख १५ हजारमा संक्रमण, नियन्त्रणबाहिर पुगेपछि महाराष्ट्रमा लकडाउन
काठमाडौँ, बैशाख ९ । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ लाख १५ हजार ८०२ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यसअघि वैशाख ८ मा भारतमा दोस्रो धेरै २ लाख ९४ हजार २९० जनामा संक्रमण पुष्टि भएको थियो ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार १०२ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रमा लकडाउन
सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने पाँच सय ६८ जनाको ज्यान गएको छ ।
अब आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ ।महाराष्ट्र राज्यमा विवाह उत्सवमा २५ जनालाई मात्र सहभागी हुन पाउने भएका छन् भने सार्वजनिक बसमा ५० प्रतिशत मात्रै यात्रुलाई चढाउन पाइने छ ।
लकडाउनभर सरकारी कार्यालयमा १५ प्रतिशत मात्रै कर्मचारी रहने छन् भने लोकल रेलमा कामका लागि मात्रै यात्रा गर्न भनिएको छ ।संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्