विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय, स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरिने

काठमाडौं, बैशाख ३ । कोरोनाका कारण स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नजान र भिडभाड हुने क्षेत्र र क्रियाकलाप बन्द गर्न अपिल गरेको छ ।

यसअघि काठमाडौँ महानगरपालिकाले पनि शिक्षक वा विद्यार्थीमा कोरोना भाइरस देखिए एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

महानगरको निर्णयमा कोभिड–१९ को समस्या भएका विद्यालय मात्र बन्द गर्न पाउने र सबै विद्यालयलाई एकैपटक बन्द गर्न नहुने उल्लेख गरिएको छ । तर यता शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ ।शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने निर्णय पनि गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहसँगको समन्वयमा भने विद्यालय बन्द हुनसक्ने उनको भनाइ रहेको छ ।

यसअघि पनि मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेको थिए ।

अन्य सरोकारवालाले पनि विद्यालय बन्द नगर्न तथा अन्य विकल्प अपनाउन सुझाव दिएका छन् । अहिले कोरोना त्रासले पनि सरकारले विद्यालय बन्द गर्न पर्ने अवस्था आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्