सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना भेटिएसँगै सतर्कता बढाइयो

काठमाडौँ , चैत २३ । पछिल्लो समय सुुदुरपश्चिममा नयाँ प्रकारका कोरोना संक्रमित भेटिन थालेका छन् । भारतबाट आएका ३ जना नेपालीमा नयाँ प्रकारको कोरोना भाइरस (नयाँ भेरियन्ट) को संक्रमण पुष्टि भएसँगै यहाँ सतर्कता थप कडा पारिएको छ ।

भारतबाट आएकाहरुको परीक्षण गर्दा कोरोना संक्रमण देखिएका मध्ये २० जनाको स्वाब नमूना नयाँ भेरियन्ट रहे–नरहेको पुष्टि गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ ल्याइएको थियो ।

त्यसमध्ये तीनजनामा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीका अनुसार कञ्चनपुरका २२ वर्षे, डडेल्धुराका ३१ वर्षे र डोटीका ३० वर्षे पुरुषमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनीहरु तीनजना अहिले घरमै आइशोलेशनमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको कार्कीले बताएका छन् । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ्ग भइरहेको प्रवक्ता कार्कीले विज्ञप्ति मार्फत जनाएका छन्।

संक्रमित क्षेत्र तथा विदेशबाट आएकाहरुले कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्न र मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेसहितका सावधानीका उपाय अपनाउन पनि उनले आग्रह गरेका छन्। भारतमा पछिल्लो समय नयाँ भेरियन्टका कारण संक्रमण अति तीव्र गतिमा फैलिरहेको छ । सोमबार एकै दिन एक लाख तीन हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ ।

यस्तोमा भारतबाट आएका नेपालीमा पनि नयाँ भेरियन्टको संक्रमण देखिएको हो । रोजगारीका लागि सुदुरपश्चिमबाट धेरै भारत जाने गर्दछन् तर कोरोनाका कारण त्यहाँको कतिपय ठाउँमा लकडाउ भएको हुँदा फेरि उनीहरु घर फर्कन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्