भारतमा भयावह बन्दै कोरोना: पहिलोपटक एकैदिनमा थपिए एक लाख संक्रमित, महाराष्ट्रमा कडा लकडाउन

काठमाडौं, चैत २३ । पछिल्लो समय भारतमा कोरोना चयावह बन्दै जान थालेको छ । यहाँ गएको २४ घण्टामा एक लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

भारतमा पहिलोपटक एकैदिन एक लाखको संख्यामा कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको जानकारी अनुसार गएको २४ घण्टामा भारतमा १ लाख ३ हजार ५५८ कोरोना संक्रमित थपिएका हुन्। सोही अवधिमा कोरोनाका कारण ४७८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजारभन्दा बढी पुगेको छ। कोरोनाले यहाँ १ लाख ६५ हजारभन्दा बढीको ज्यान लिइसकेको छ।

जनवरी १६ देखि भारतमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। ७ करोडभन्दा बढीमा खोप लगाइसकिएको छ।खोपले कोरोना नियन्त्रण गर्छ भन्ने अनुमानका बिच भारतमा कोरोनाको अवस्था भने भयावह बन्दै गएको छ।

संक्रमितको पछिल्लो तथ्यांक हेर्दा भारत अहिले कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। अन्य देशको तुलनामा यहाँ दोब्बर, तेब्बरले संक्रमित थपिरहेका हुन्।यता भारतमा तीव्र गतिमा कोरोना संक्रमित थपिँदा महाराष्ट्रमा कडा लकडाउनको नियम लागू भइसकेको छ।

भारत सरकारका अनुसार कुल संक्रमितमध्ये ७६ प्रतिशत संक्रमित महाराष्ट्र, छत्तीसगढ, कर्नाटक र पन्जाव राज्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्