देशका ३९ जिल्लामा डढेलोको प्रभाव, अहिलेसम्म ८६ जनाको मृत्यु
काठमाडौं, चैत १८ । अहिलेको समयमा देशका विभिन्न भागहरुमा आगलागी भइरहेको छ । योसँगै मुलुकका विभिन्न भागमा डढेलो फैलिएपछि दुर्लभ वन्यजन्तु र वासस्थान प्रभावित बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो एक महिनाको तथ्याङ्क अनुसार देशभर आगलागी र डढेलोको कारण ८६ जनाको मृत्यु भइसकेको छ। अन्य ३५३ जना घाइते भएका छन् भने २ हजार ९५५ परिवार संख्या प्रभावित भएका छन्।
त्यस्तै ६२१ घरधुरी आंशिक रुपमा प्रभावित भएको छन् भने पूर्णरुपमा ९६८ घरधुरी प्रभावित भएका छन्। यो समाचार तयार पार्दा सम्म ३९ जिल्लाका वनमा आगलागी भइराखेको छ। सबै भन्दा धेरै डोटी जिल्लामा १२ स्थानमा डडेलो लागिरहेको छ।
मंगलबारदेखि केहीहदसम्म डढेलो नियन्त्रणमा आएपनि पूर्णरुपमा नियन्त्रण हुन जेठ दोस्रो सातासम्म लाग्ने अनुमान राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अधिकारी मालती पन्तले बताइन्।
सूचना अधिकारी पन्तका अनुसार देशभर आगो लागेको जंगलमा डिभिजन वन कार्यलयले तालिमप्राप्त जनशक्ति परिचालन गरेको छ। आगोको स्वरुप ठूलो भएकाले नियन्त्रण ढिलो भएको बताइएको छ। उनले डढेलोको मौका छोपी वन्यजन्तुको चोरी शिकारी हुने जोखिम भएकाले ठूलो रुपमा कर्मचारी खटाइएको जानकारी आएको बताइन्।
यसैबीच केही दिन यता मुलुकको हिमाली, पहाडी, तराई र केही संरक्षित क्षेत्रमा आगोलागी हुँदा वायु प्रदुषण उच्च विन्दुमा परेको छ भने जनस्वाथ्यमा समेत गम्भीर असर पर्न थालेको छ।
वायु प्रदुषण उच्च विन्दुमा पुगेपछि सरकारले मुलुकभरका शिक्षण संस्था बन्द चार दिनका लागि बन्द गरेको छ। वनमा डडेलो लाग्नुको प्रमुख कारण मानवीय लापरवाही भएको बताएको छ ।
हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समय सुख्खा हुने भएकाले यो यामलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ।
यसरी हरेक वर्ष लाग्ने डढेलोले सुन्दर प्राकृतिक वन र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्