सडक दुर्घटना न्यूनिकरण गर्ने सरकारी लक्ष्य चुनौतीपूर्ण

काठमाडौं । सडक सुरक्षा नीतिको अभावमा सन् २०२० सम्ममा सडक दुर्घटना न्यूनिकरण गर्ने सरकारको लक्ष्य पूरा नहुने सरोकारवालाले बताएका छन् ।

ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाल ईन्जिनियर्स एशोसिएसनले सडक सुरक्षा नीतिको अभावमा आगामी २ वर्षभित्र सडक दुर्घटना न्यूनिकरण गर्ने सरकारी लक्ष्य पूरा नहुने दाबी गरेको हो ।

सडक सुरक्षा नीति नहुँदा नेपालमा निर्माण भएका सडकहरु सुरक्षित हुन नसकेको तथा वर्षेनी सडक दुर्घटना बढ्दै गएको ईन्जिनियर्स एशोसिएसनको भनाई छ । सडक सुरक्षालाई प्राथमिकतामा राख्न एशोसिएसनको आग्रह छ ।

एशोसिएसनले सडक प्रयोगकर्ता, सवारी साधन लगायतको सुरक्षाको लागि सडक सुरक्षा नीति संसदबाट पारित गर्न सरकारसंग माग गरेको छ । सो नीति कार्यान्वयनमा आए सडक सुरक्षाको प्रत्याभूति बढ्ने भन्दै एशोसिएसनका अध्यक्ष ईन्जिनियर हरेराम श्रेष्ठले सडक सुरक्षा परिषद गठन गर्न सरकारसँग माग गरे।

सडक सुरक्षाबारे जनचेतनामा वृद्धि गर्न जरुरी रहेको तर्क गर्दै श्रेष्ठले बढ्दो दुर्घटना न्युनिकरणका लागि विद्यालय स्तरबाट सडक सुरक्षा सम्बन्धी शिक्षा दिन आवश्यक भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्