भक्तपुरबाट ४२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

काठमाडौं, फागुन २८ । प्रहरीले भक्तपुरबाट ४२ लाख ३० हजार रुपैयाँ नगद सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सूर्यबिनायक नगरपालिका २ बालकोट बस्ने दोलखा बैतेश्‍वर गाउँपालिका ६ घर भएका ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी बस्ने सोही ठाउँ घर भएका ३७ वर्षीय बिनोद तामाङ रहेका छन्। उनीहरुलाई स्रोत नखुलेको उक्त रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरुलाई बुधबार राति नगद र विभिन्न बैंकका चेक सहित पक्राउ गरिएको हो । जुवातास खेलाई सोबाट आर्जन गरेको नगद लिएर हिँडिरहेका छन् भन्ने उजुरी पछि प्रहरीले पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा २१ च ३८३९ नम्बरको कारलाई जाँच गर्दा स्रोत नखुलेको २७ लाख रुपैयाँ फेला पारी तामाङलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त रकम घिमिरेको हो भन्ने खुल्न आएपछि काठमाडौं पेप्सीकोलाबाट घिमिरेलाई नियन्त्रणमा लिई उनको बालकोटस्थित कोठाबाट थप १५ लाख ३० हजार रुपैयाँ फेला पारेको हो ।

साथै घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँ लेखिएको राष्ट्रिय बाणिज्य बैंकको चेक १ थान, ९ लाख ५० हजार रुपैयाँ लेखिएको प्राइम बैंकको बाउन्स चेक १ थान, १ लाख २५ हजार रुपैयाँ लेखिएको स्ट्यार्ण्ड चार्टर बैंकको चेक १ थान, ९ लाख ९९ हजार रुपैयाँ लखिएको नेपाल बैंक लिमिटेडको १ थान चेक, १५ लाख रुपैयाँ लखिएको महालक्ष्मी बिकास बैंकको चेक १ थान, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको १ थान भौचर समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका मध्ये सुमन घिमिरे उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा २०७४ कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगंज काठमाडौं र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्गमा तथा बैंकिङ कसुर मुद्दामा समेत २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि सम्पति सुद्धिकरण बिभाग पुल्चोक, ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ

प्रतिक्रिया दिनुहोस्