दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुन्छ : मन्त्री पण्डित

काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एकरदुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्र पनि सहभागी हुने स्पष्ट पारेका छन्।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास दिलाएका हुन्। उनले भने,‘एकर दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन्छ।’

उनले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने जिकिर गरे।

मन्त्री पण्डितले आफूले भर्खरमै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने विश्वास दिलाए।
उनले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने,‘वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बाउनको लागि दत्तचित्त भएर काम गर्छु।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको प्रमुख नीति तथा कार्यक्रमहरू विकास केन्द्रीत गतिविधिमा केन्द्रीत हुने पनि जानकारी दिए।
अघिल्लो सरकारले गरेका कतिपय निर्णयहरू गलत भए वा प्रक्रियागत रूपमा ठिक नभए ती निर्णयहरूलाई आफूहरूले खारेज गर्न सक्ने पनि मन्त्री पण्डितको भनाइ थियो।
मन्त्री पण्डितले भविष्यमा संविधान संशोधन हुने भएपनि अहिले नै संशोधन नगरिने स्पष्ट पारे।

उनले वातावरणलाई मानवमैत्री बनाउनको लागि जनसंख्यालाई पनि सन्तुलन बनाउनुपर्नेमा जोड दिए। उनले भने,‘जनसंख्या पनि भूगोल सुहाउँदो र नियन्त्रण गर्नुपर्छ, अहिले गाउँबाट सहर बसाइसराइ गर्ने लहर चलेको छ।’ मन्त्री पण्डितले आफूले अघिल्लोपटक मन्त्रीको जिम्मेवार सम्हाल्दा बोल्ड निर्णय गरेजस्तै अब पनि बोल्ड निर्णय लिएर अघि बढ्ने प्रतिबद्धता सुनाए।

 

प्रतिक्रिया दिनुहोस्