लागूऔषध अफिमसहित २ भारतीय महिला पक्राउ

काठमाडौं, फागुन २६ । लागूऔषध अफिमसहित नेपाली मूलका २ भारतीय महिला पक्राउ परेका छन् । झापा मेचीनगर नगरपालिका ६ स्थित न्यु विशाल होटलबाट उनीहरु पक्राउ परेका हुन् ।

पर्नेमा भारत मनिपुर बस्ने ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित लागूऔषध अफिमको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठामाडौं र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरको हो ।

प्लाष्टिकको जेब्रा झोलाभित्र दुईवटा पोका बनाई लुकाइराखेको प्रतिबन्धित लागूऔषध अफिम २ किलोसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्