ग्याल्बो ल्होछार पर्व आज मनाइदै, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

काठमाडौं । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व आज मनाइदै छ ।

तीनकुनेमा विशेष कार्यक्रम प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ ।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो ।

ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए ।

 

यसैबीच राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ । काठमाडौंको तिनकुने शुक्रबार र शनिबार सांस्कृतिक महोत्सव हुँदैछ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने ल्होछार मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए । उनका अनुसार औपचारिक कार्यक्रम शुरु हुनु अघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट साँस्कृतिक झाँकीसहितको र्‍याली निकालिँदैछ ।

आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ ९रोटी०, भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्