गैरव्यावसायिक काम गर्ने जो कोहीलाई कारबाही हुन्छ : आईजीपी अर्याल

काठमाडौँ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी संगठनमा रहेर गैरव्यावसायिक क्रियाकलाप गर्ने जो कोहीलाई कारबाही गरिने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको बिहीबार बिहान उद्घाटन गर्दै महानिरीक्षक अर्यालले भने, ‘गैरव्यावसायिक क्रियाकलाप गर्ने फष्ट क्लास अफिसरहरु समेत कारबाहीको प्रक्रिया रहेको छन् । यसैले संगठनको मर्यादालाई ख्याल गरेर काम गर्न सबै प्रहरीहरुलाई सजग गराउँछु ।’

अहिले पनि नेपाल प्रहरीको कार्यालयहरु दयनीय अवस्थामा रहेको र प्रहरीलाई समेत सेवा सुविधा दिन नसकिएको उनले उल्लेख गरे । तर, उपलब्ध स्रोत साधनको उच्चतम् प्रयोग गर्दै नागरिकलाई सेवा दिइरहेको पनि उनले बताए ।

प्रहरीको मुल धन भनेकै जनआस्था भएकाले नागरिकलाई केन्द्रमा राखेर प्रहरीले काम गर्नुपर्ने पनि उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयको पूरानो भवन भत्काएर ३ करोड ८७ लाख ९१ हजार ८ सय ९ रुपैयाँमा नयाँ भवन निर्माण गरिएको हो ।

भवन उद्घाटन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पंकज श्रेष्ठ, प्रदेश १ प्रहरी प्रमुख पशुपति उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्