मुलुकको ४१ औँ प्रधानमन्त्रीमा ओली नियुक्त हुदै, चार बजे सपथग्रहण

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४१ औँ प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन ।

ओलीलाई नेपालको प्रधानमन्त्रीको रुपमा दिउँसो चार बजे सपथग्रहण गराउने कार्यक्रम तय गरिएको शीतलनिवास स्रोतले जनाएको छ । एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अहिलेकेहीबेरमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले ओलीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी गरेपछि घोषणा गर्ने र चार बजे सपथग्रहणको समय तोकिएको जानकारी दिए ।

गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको दाबी गर्न लागेको हो । हिजो बसेको एमाले र माओवादी केन्द्रको एकता संयोजन समिति बैठकले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि आज राष्ट्रपतिसमक्ष दाबी गर्ने निर्णय गरेको थियो । पार्टी एकताका बाँकी काम टुङ्ग्याउन आज फेरि एकता संयोजन समितिको बैठक बस्ने निर्णय हिजो भएको थियो ।

एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । विगतमा संसद्बाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी व्यवस्था गरेको छ ।

संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । २ सय ७५ सदस्यीय संसद्मा वाम गठबन्धनका पक्षमा १ सय ८४ सिट छ । सरकार गठनका लागि १ सय ३८ सिट चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्