हुम्लामा दुई सय पशुको झण्डै एक महिनापछि उद्धार
काठमाडौं, ६ कार्तिक । हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ ।
असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा रहेका पशुको अवस्था अज्ञात थियो । बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा जानसमेत कठिनाइ भएको थियो ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार उद्धार गरिएका पशुमा १०० चौँरी गाई, ५० घोडा तथा ५० जुमा र झोपा छन् ।
लामो समयदेखि सम्पर्कविहीन रहेका पशुलाई निङ खोला, साक्या खोला, गेउ खोला र लाप्चा क्षेत्रका उच्च पाटनबाट कठिन प्रयासपछि उद्धार गरिएको तामाङले बताए ।
वडाध्यक्ष तामाङका अनुसार बाक्लो हिमपात र प्रतिकूल मौसमका कारण उच्च पाटनमा रहेका पशुको खोजी गर्न समस्या भएको थियो ।
लिमीका बासिन्दाले बर्सेनि हिमपातका कारण सास्ती खेप्दै आएका छन् । नारा र न्यालु लेकमा हिउँ जमेर सडक अवरुद्ध हुँदा लिमीबाट सदरमुकाम सिमकोट पुग्नसमेत कठिन हुने गरेको स्थानीयको गुनासो छ । सडक अवरुद्ध हुँदा लिमीका बासिन्दा सदरमुकामबाट टाढा हुने र दैनिक आवतजावत तथा सेवा सुविधामा समेत समस्या पर्ने गरेको छ ।






















प्रतिक्रिया दिनुहोस्