अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्यो, कम्तीमा १७ को मृत्यु

काठमाडौं । एक किशोरले अमेरिकाको विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १७ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्ड प्रहरीले १९ वर्षीय पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा यति ठूलो मानवीय क्षति हुन पुगेको पुष्टि गरेको छ ।

बीबीसीले घटनाका संदिग्धको नाम निकोलस क्रुज रहेको जनाएको छ । समाचार अनुसार १९ वर्षीय निकोलस विद्यालयका पूर्व छात्र हुन् जसलाई स्कुलले निकालिदिएको थियो ।

स्थानीय अधिकारीले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार स्कुलमा फायर अलार्म बजाएपछि विद्यार्थीहरु तितरबितर भएका थिए । त्यही बेला उनले गोली वर्षाएका थिए ।

स्कुलका छात्र कक्षामा लुकेका थिए भने प्रहरीले स्कुल घेरेको थियो । गोलाबारी सुरु भएको एक घण्टापछि प्रहरीले गोलाबारीमा संलग्नलाई हिरासतमा लिएको छ ।

प्रहरीले १४ पीडितबारे जानकारी दिएको छ तर उनीहरुको स्थिति सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्