विदेशमा कोरोनाबाट थप एक जनाको मृत्यु , ज्यान जानेको संख्या ३३६ पुग्यो

काठमाडौं, फागुन ९ । विदेशमा कोरोनाबाट थप एक जना नेपालीको मृत्यु भएको छ । यो साता थप एक जनाको मृत्यु भएसँग ज्यान जानेको संख्या ३३६ पुगेको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट निधन भएको हो।

यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ जना छ भने २ लाख ६९ हजार ६ सय १९ जना अर्थात ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।

यस्तै स्वास्थ्य विशेषज्ञहरुले हाल प्रयोगमा आएका खोपहरु सुरक्षित रहेको बताएका छन्। स्वास्थ्य समितिमा आवद्ध चिकित्सकहरुका अनुसार लामो समयको अध्ययन र परिक्षणपश्चात खोपहरु प्रयोगमा ल्याइएकोले ती प्रयोगका लागि सुरक्षित रहेको उनीहरुले बताएका हुन् ।यता नेपालमा पनि अहले कोरोना खोप अभियान जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्