कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति
काठमाडौं, फागुन ५ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेपाली कांग्रेसमा सहमति जुटेको छ ।यो सँगै अब महाधिवेशन भदौ ७ देखि १० गतेसम्म हुने भएको छ।
भदौ महिनाको ७, ८,९ र १० गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले जनाकारी दिएका छन् ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच महाधिवेशनको मितिमा विवाद हुँदै आएको थियो तर आज सहमति भएको छ । प्रस्ताव पारित गर्न अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।
दुबै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको हो । बुधबार दिउँसो २ बजेका लागिे बैठक बोलाएको थियो तर तीन घण्टा ढिला सुरु हुन लागेको कांग्रेसका नेता मिनेन्द्र रिजालले बताए ।
बैठकमा प्रस्तुत हुने रणनीति र प्रस्ताव तय गर्न वरिष्ठ नेता पौडेलले विहान ११ बजेदेखि आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए। त्यसपछि सभापति देउवा र नेता पौडेलबीच छलफल भएको थियो। निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले एकवर्ष म्याद थप गरेको थियो। जसको म्याद फागुन १९ गते सकिँदैछ।
प्रतिक्रिया दिनुहोस्