महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउँदै , भयो सम्झौतामा हस्ताक्षर

काठमाडौँ , फागुन ४ । कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । गौचरनको रूपमा परिणत भएको सो विमानस्थलको विस्तार र क्षमता विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ ।

सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको रोहवरमा विमानस्थल विस्तार तथा विकास सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

पर्यटन मन्त्री ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार र विकासमा तीन तहका सरकारको साझेदारी सबैका लागि खुशीको विषय भएको बताए । उनले विमानस्थल विकासको सम्झौताको भावना बमोजिम सम्बन्धित निकायले जिम्मेवारीपूर्वक प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह समेत गरेका छन् । त्यस क्रममा कुनै समस्या आइपरेमा सङ्घीय सरकारले सहजीकरण गर्ने पनि स्पष्ट पारे ।

समझदारी पत्रअनुसार प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधरा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्नेछन् भने सङ्घीय सरकारको तर्फबाट क्यानले ५० प्रतिशत लगानी गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

महेन्द्रनगर विमानस्थलको हालको धावनमार्गको लम्बाई कम्तीमा एक हजार ६०० मिटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी विमानस्थललाई ‘थ्रिसी क्याटोगोरी’स्तरको आधुनिक सुविधा सम्पन्न विमानस्थलमा स्तरोन्नति गरिने छ । महेन्द्रनगर विमानस्थल विगत लामो समय सञ्चालनमा आएर पनि बन्द भएको थियो ।

सुदूरपश्चिमका दुर्गम पहाडी भेगको उडान तथा क्षेत्रीय उडान सञ्चालनका लागि महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य मानिन्छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली महेन्द्रनगरदेखि करीब साँढे तीन किलोमिटर दूरीमा पर्छ ।

सो क्षेत्रमा सुक्खा बन्दरगाहा निर्माणको योजना रहेको छ । यसरी अब महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउने भएपछि त्यहाँका बासिन्दा भने खुशि भएका छन् । यात्रा गर्न पनि अब सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्