संसद् विघटनविरुद्ध कांग्रेसले भोली प्रर्दशन गर्दै , सहभागी हुन देउवाको अपिल

काठमाडौं , फागुन २ । संसद् विघटनविरुद्ध भोली कांग्रेसले प्रदर्शन गर्ने भएको छ  । प्रदर्शनमा सहभागी हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् । देउवाले आज वक्तव्य जारी गरी प्रतिनिधिसभा विघटनको कदमविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेका हुन् ।

देउवाले वक्तव्यमा भनेका छन्, “केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि फागुन ३ गते सोमबार देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन म सबैमा हार्दिक अपिल गर्दछु ।”

वक्तव्यमा संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृसंस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागितासाथ सम्पन्न भएको भन्दै देउवाले अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन भनेका छन् ।

“संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ,” देउवाले भनेका छन्, “पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।”

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल(नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। पार्टी कार्यालय पेरिस डाँडामा आइतबार पत्रकार सम्मेलन गर्दै दाहाल-*नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्