नेपालसहित विश्वभर आज प्रणय दिवस मनार्इँदै

काठमाडौं । प्रेम साटासाट गरी नेपालसहित विश्वभर आज प्रणय दिवस मनार्इँदैछ । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् ।

उपहार तथा प्रेम साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि यो दिवसलाई युवाले उपयोग गर्दछन् ।

दिवसको अवसरमा आज काठमाडौं लगायत सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । कतिपयले भने यसलाई विदेशी चाड भएकाले विकृति मात्र ल्याएको धारणा समेत राख्दै आएका छन् ।

तत्कालिन रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीलाई प्रेमका लागि उत्प्रेरित गर्दै सामूहिक विवाह गराइदिएका थिए ।

तर युवा युवती प्रेममा लागे सैनिक शासन प्रभावित हुन्छ भनेर भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएपछि उनको सम्झनामा हरेक वर्ष फेब्रअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्